बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

विष्फोटक पदार्थसम्बन्धी कसुरका पक्राउ परे श्रम संस्कृति पार्टीका उपाध्यक्ष लामा

बुधबार, पुष २ २०८२

काठमाडौँ । विष्फोटक पदार्थसम्बन्धी कसुरका प्रतिवादी कुमार, विश्वक्रान्ति र देवराज लामा भनिने राजकुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंगलबार काठमाडौँबाट उनलाई नियन्त्रणमा लिएको हो।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीका उपाध्यक्षसमेत रहेका लामा २०८१ भदौ १४ गते भएको बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।

उक्त विस्फोटमा एक बालिकाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए। घटनाका सम्बन्धमा पाँचथरमा उजुरी परेको आधारमा अनुसन्धान अगाडि बढाइएको सिआइबीले जनाएको छ।

सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार लामालाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित निवासबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई हिजाेनै थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको उनले जानकारी दिए ।

यसअघि पनि राजकुमार तामाङ लामा गम्भीर आपराधिक घटनामा संलग्न रहिसकेका छन्। २०६८ सालमा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाईम बम विस्फोट गराई मानबहादुर तामाङसहित तीन जनाको मृत्यु तथा सोम तामाङ घाइते भएको कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा उनी दोषी ठहर भई जेल सजाय भोगेका थिए। उक्त मुद्दामा जेल जीवन बिताएका लामा विसं २०७६ साल प्रजातन्त्र दिवसका अवसरमा जेलमुक्त भएका थिए।