काठमाडौँ । महिला पर्यटन व्यवसायीहरूको संस्था महिला पर्यटन व्यवसायी सञ्जालको अध्यक्षमा जया बराल निर्वाचित भएकी छन् ।
सञ्जालको आइतबार सम्पन्न चौथो साधारणसभा तथा निर्वाचनबाट बरालको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा सर्मिला काफ्ले, सचिवमा सुस्मा तामाङ, कोषाध्यक्षमा अनुपा अधिकारी तथा सहकोषाध्यक्षमा स्विटी मानन्धर निर्वाचित भए ।
त्यसैगरी सदस्यहरूमा निरु अधिकारी, सुनिता गुरुङ, गीता शर्मा र लक्ष्मी कार्की निर्वाचित भएको सञ्जालकी पूर्वकोषाध्यक्ष शकुन्तला देवकोटाले जानकारी दिए ।
महिला पर्यटन व्यवसायी सञ्जालले पर्यटन क्षेत्रमा क्रियाशील महिलाहरूका लागि कर तथा भ्याटसम्बन्धी प्रशिक्षण, क्षमता अभिवृद्धि तालिम तथा महिलालाई पर्यटन व्यवसायसँग जोड्ने उद्देश्यले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, महिलालाई पर्यटनमार्फत आत्मनिर्भर बनाउने अभियानमा सञ्जाल सक्रिय रहेको छ।
वि.सं. २०७८ मा स्थापना भएको यस सञ्जालमा हाल पर्यटन क्षेत्रमा क्रियाशील करिब १०० महिला सदस्य आबद्ध रहेका छन्।