काठमाडाैं । बेलायतमा बलात्कार र यौन शोषणका गम्भीर अपराधमा एक नेपाली मूलका व्यक्ति प्रमोद ढकाललाई २५ वर्षको कारागार सजाय सुनाइएको छ। क्याम्ब्रिज क्राउन कोर्टले सोमबार (डिसेम्बर १) ४९ वर्षीय ढकाललाई दोषी ठहर गर्दै २५ वर्ष जेल र त्यसपछि थप ८ वर्ष निगरानी (‘लाइसेन्स’)मा राख्ने आदेश दिएको हो।
ढकालले १९ वर्षको अवधिमा विभिन्न समयमा यौन अपराधहरू गर्दै आएकामा अदालतले उनलाई कठोर सजाय सुनाएको हो। साउथ योर्कशायरको डोनकास्टरमा बस्दै आएका उनको अपराध २०२३ को नोभेम्बरमा मात्र बाहिर आएको थियो, जब पीडितमध्ये एक जनाले परिवारलाई आफूले भोगेको शोषणबारे खुलासा गरे। त्यसपछि अन्य पीडितहरू पनि प्रहरीको सम्पर्कमा आएका थिए।
प्रहरीका अनुसार पीडितमध्ये एक जनालाई बाहेक सबैजना घटनाको समयमा बालबालिका थिए। तीमध्ये सबैभन्दा कान्छी पीडितको उमेर जम्मा ८ वर्ष मात्र थियो। अधिकांश पीडित क्याम्ब्रिजसायरका थिए भने एक जना लन्डनका थिए। कसैले विश्वास नदिने डरले उनीहरू वर्षौंसम्म मौन बस्न बाध्य भएको प्रहरीले जनाएको छ।
पक्राउ परेपछि ढकालले सबै आरोप अस्वीकार गरे। तर, गत सेप्टेम्बरमा क्याम्ब्रिज क्राउन कोर्टमा २० दिन चलेको सुनुवाइपछि जुरीले ३ घण्टाभन्दा कम समयमै सर्वसम्मत रूपमा उनलाई दोषी ठहर गर्यो।
अदालतले ढकाललाई अनिश्चितकालका लागि ‘सेक्स अफेन्डर रजिस्टर’मा राख्ने आदेश दिएको छ। साथै, उनका ८ जना पीडितहरूसँग भविष्यमा कुनैपनि प्रकारको सम्पर्क राख्न नपाउने गरी ‘रेष्ट्रेनिङ अर्डर’ पनि जारी गरिएको छ।