बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एनपिएलमा आज विश्राम, भोलि दुई महत्वपूर्ण खेल

सोमबार, मंसिर १५ २०८२

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज खेल नहुने भएको छ। आयोजकले सोमबारलाई विश्राम दिँदै भोलि मङ्गलबार दुई खेल निर्धारित गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्। अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्नेछन्।

लगातार चार खेलमा पराजित भई पुछारमा रहेको जनकपुरले गणितीय रूपमा भए पनि प्लेअफ प्रतिस्पर्धामा टिक्न भोलिको खेल जित्नैपर्ने दबाब रहेको छ। चार खेलमध्ये दुई खेल जितेको चितवनले भने अर्को जित दर्ता गर्दै प्लेअफ सम्भावना थप प्रबल बनाउन चाहन्छ।

दोस्रो खेल पोखरा र कर्णाली दुवैका लागि निर्णायक हुनेछ। चार खेलमा एक जीत मात्रै हासिल गरेको पोखराले विजयी भए प्लेअफ यात्रा सहज हुनेछ, जबकि कर्णालीका लागि यो खेल ‘गर या मर’ अवस्थाको हुनेछ।

मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा अहिलेसम्म १९ खेल सम्पन्न भइसकेका छन्। अपराजित सुदूरपश्चिम रोयल्स १० अंकसहित प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ।