काठमाडाैं । एसीसी पुरुष यू–१९ प्रिमियर कपअन्तर्गत मंगलबार सम्पन्न खेलमा नेपालले साउदी अरेबियालाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुआत गरेको छ। २ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ३०.२ ओभरमै दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
नेपालका लागि निरज कुमार यादव चम्किए। उनले ९० बलमा १३ चौका र एक छक्कासहित ११४ रनको शतक प्रहार गरे। त्यस्तै निश्चल क्षेत्रीले ७३ बलमा ५ चौका र एक छक्काको मद्दतमा नटआउट ६६ रन बनाए। भान्श क्षेत्रीले ३० रनको योगदान दिए।
बलिङतर्फ साउदी अरेबियाका मोहम्मद जुबेर सुन्सारा र हाशिर अहमद सजदले समान एक/एक विकेट लिए।
त्यसअघि अजमानस्थित कर्वान मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो। टोलीका लागि मोहम्मद जुबेर सुनासाराले ४८, मोहम्मद रेहान सिद्दिकीले ४१, ओमाइर अहमद वाहाबले ३९, माज्दीले २५, रायन खानले १७ र हाशिर अहमद साजदले १६ रन जोडे।
नेपालका लागि अशोक धामीले दुई विकेट लिए भने दयानन्द मण्डल, शुशिल बहादुर रावल, सिब्रिन श्रेष्ठ र डार्श सोनारले समान एक/एक विकेट हात पारे।
यो जितसँगै नेपाल समूह ‘ए’ मा दुई अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले आफ्नो दोस्रो खेल नोभेम्बर २७ मा हङकङ (चीन) विरुद्ध खेल्नेछ।