काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल भइरहेको समयमा अनलाइनमार्फत सट्टाबाजी सञ्चालन गरेको आरोपमा आठ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार सबै आरोपीहरू भारतको आन्ध्र प्रदेश, प्रकासम जिल्लास्थित पामुर गाउँका बासिन्दा हुन्।
पक्राउ पर्नेहरू काठमाडौँ महानगरपालिका–२६ सामाखुशीमा बस्दै आएका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साइकुमार तम्मिसेट्टी र २८ वर्षीय सेखचन्द बसल रहेको प्रहरीले जनाएको छ।
उनीहरूले ‘बेटाकुलर लाइभ’ नामक अनलाइन बेटिङ प्लेटफर्ममार्फत खेलको हार–जितमा रकम लगानी गर्दै सट्टाबाजी सञ्चालन गर्दै आएको खुलेको छ। प्रहरी टोलीले उनीहरूलाई बल्खुबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट १५ वटा मोबाइल फोन बरामद गरिएको छ र ती उपकरणहरूको डिजिटल फरेन्सिक परीक्षण भइरहेको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १२५(४) विपरीत सट्टाबाजी कार्यमा संलग्न भएकाले उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ।