शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

फरार कैदीबन्दी पक्राउ

मंगलबार, मंसिर २ २०८२

काठमाडौँ । भदौ २४ गते आन्दोलनका बीच सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार भएका दुई कैदीबन्दीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धादिङको गजुरी–२ की गीता लामालाई ललितपुर–३ धोवीघाटबाट पक्राउ गरेको हो। जिउ मास्ने बेच्ने मुद्दामा २२ वर्ष कैद सजाय पाएकी लामा २०७६ मंसिर १९ देखि महिलाबन्दीगृह सुन्धारामा थुनामा रहेकी थिइन्।

त्यसैगरी, सुन भन्सार चोरी–पैठारी प्रकरणमा एक वर्ष कैद र एक करोड आठ लाख ३९ हजार ७४७ रुपैयाँ जरिवाना तोकिएका काठमाडौँ धोवीचौर निवासी मङ्गलनारायण मोहन महर्जनलाई पनि पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

दुवैलाई पक्राउ गरी पुनः जगन्नाथदेवल कारागार कार्यालयमा पेस गरिएको प्रहरीले जनाएको छ।