काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा फूलबारी गेट नजिक धारिलो हतियार देखाई लुटपाट गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–५ का सूर्यबहादुर घलान र सिन्धुली दूधौली नगरपालिका–१० का मनोज चौधरी रहेका छन्। दुवैजना हाल बूढानीलकण्ठमा बस्दै आएका थिए।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख दानबहादुर कार्कीका अनुसार गएराति गोकर्णेश्वर–५ बस्ने श्रवण तामाङलाई मोटरसाइकल रोकेर बसिरहेको बेला दुई जनाले धारिलो हतियार देखाई झोला लुटेर फरार भएका थिए।
घटनापछि प्रहरी वृत बालाजुले पीडितसँग समन्वय गरी हुलियाका आधारमा चेकजाँच अभियान चलाउँदा अस्थायी प्रहरी पोष्ट तिनपिप्लेबाट खटिएको टोलीले दुवैजनालाई पक्राउ गर्न सफल भएको हो।
उनीहरूबाट लुटिएको झोला, बिलबुक, मोबाइल चार्जर, घरको चाबी, रोलेक्स लेखिएको घडी, नगद तीन हजार रुपैयाँ, खुकुरी एक थान, रेड्मी मोबाइल, ट्रमाडोल लेखिएको लागुऔषध ३० थान, र लुटपाटमा प्रयोग भएको बा ४२ प ४०६९ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
दुवै अभियुक्तलाई हाल प्रहरी वृत बालाजुमा राखी सोधपुछ जारी राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख कार्कीले जानकारी दिए।