काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग महत्वपूर्ण मुकाबिला खेल्दैछ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा बिहान ११ बजेर १५ मिनेटदेखि सुरु हुने खेलमा नेपाल जित निकाल्दै श्रृङ्खलामा फर्कने लक्ष्यसहित मैदान उत्रिनेछ ।
नेपालका लागि यो खेल जित्नै पर्ने बाध्यता रहेको छ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको थियो । उक्त पराजयपछि अंकतालिकामा नेपालको स्थिति थप दबाबमा छ ।
मङ्गलबार राति सम्पन्न खेलमा अमेरिकाले आयोजक यूएईलाई चार विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको थियो । यसअघि अमेरिकाले नेपाललाई १०६ रनले हराएको थियो ।
अमेरिकाविरुद्ध कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालले आज घरेलु टोली यूएईलाई हराउन थप मिहिनेत गर्नुपर्ने देखिन्छ । नेपालले यूएईसँगको खेलपछि आगामी कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार पुनः यूएईसँग खेल्नेछ ।
हालसम्म विश्वकप लिग–२ मा १७ खेल खेलेको नेपालले १२ अंक जोडेको छ । समान खेल खेलेको यूएईसँग ६ अंक मात्र छ । अंकतालिकामा नेपाल सातौं स्थानमा रहेको छ भने यूएई आठौं स्थानमा छ । २२ खेल खेलिसकेको अमेरिका भने ३२ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।