सूचीकृत दुई सय ७२ वटा कम्पनीको कुल बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचीकृत कम्पनीहरुको बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब ९९ करोड रुपैंयाँ पुगेको छ । नेप्सेका अनुसार २०८१ असार मसान्तमा २२ सय ४० दशमलव ४१ रहेको नेप्से सूचकाङ्क २०८२ असार मसान्तमा २७ सय ९४ दशमलव ७९ अंकमा कायम भएको छ।
सो अनुसार २०८२ असार मसान्तमा नेप्सेमा सुचीकृत कम्पनीहरुको धितोपत्र बजार पँुजीकरण ४६ खर्ब ५६ अर्ब ९९ करोड रुपैंयाँ पुगेको हो । यो पुँजीकरण अघिल्लो आवको तुलनामा ११ खर्ब तीन अर्ब ३१ करोड रुपैंयाँले बढी हो । नेप्सेका अनुसार २०८१ असार मसान्तमा सुचीकृत कम्पनीहरुको बजार पुँजीकरण ३५ खर्ब ५३ अर्ब ६८ करोड रहेको थियो । २०८१ असार मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ६२ दशमलव २५ प्रतिशत रहेकोमा २०८२ असार मसान्तमा ७६ दशमलव २५ प्रतिशत रहेको छ।
नेप्सेका का अनुसार २०८२ असार मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या भने दुई सय ७२ पुगेको छ । सूचीकृत कम्पनीहरू मध्ये एक सय ३२ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, सात वटा होटल, सात वटा लगानी कम्पनी, चार वटा व्यापारिक संस्था र आठ वटा अन्य समूहका रहेका छन् । २०८१ असारमा सूचीकृत कम्पनीहरूको सङ्ख्या दुई सय ७० रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५४ दशमलव एक प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५ दशमलव तीन प्रतिशत, लगानी कम्पनीको हिस्सा सात दशमलव सात प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा पाँच दशमलव चार प्रतिशत, व्यापारिक संस्थाको हिस्सा पाँच प्रतिशत, होटेलको हिस्सा दुई दशमलव सात प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा नौं दशमलव आठ प्रतिशत रहेको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ असार मसान्तमा सूचीकृत आठ अर्ब ८२ करोड सेयरको चुक्ता मूल्य भने आठ खर्ब ६९ अर्ब ८६ करोड रुपैंयाँ रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा ४० अर्ब २१ करोड बराबरको साधारण सेयर, २४ अर्ब ४२ करोड बराबरको बोनस सेयर, १३ अर्ब २३ करोड बराबरको हकप्रद सेयर, एक अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, ११ करोड २० लाख रुपैंयाँ बराबरको एफपीओ र तीन अर्ब ९६ करोड रुपैंयााँ बराबरको अन्य सेयर गरी कुल ८३ अर्ब १९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
नेप्सेका अनुसार गत आर्थिक बर्षमा नेपाल धितोपत्र बोर्डले १५ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, १५ अर्ब २० करोड बराबरको म्युचुअल फण्ड, १० अर्ब ६२ करोड बराबरको डिबेन्चर र तीन अर्ब ९३ करोड बराबरको साधारण सेयर गरी कुल ४५ अर्ब १६ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ।