शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपाल ४१ रनले विजयी : सन्दीपले ह्याट्रिकसहित पाँच विकेट

मंगलबार, भाद्र १० २०८२

काठमाडौं । अष्ट्रेलिया भ्रमणको पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि ४१ रनको विजयी सुरुवात गरेको छ । मंगलबार बिहान भएको खेलमा लेगस्पिनर सन्दीप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिएपछि टेरीटरी १७८ रनको लक्ष्य पछ्याउँदै १७.२ ओभरमै १३६ रनमा समेटियो ।

सन्दीपले ४ ओभरमा ३१ रन खर्चिँदा ह्याट्रिकसहित ५ विकेट लिन सफल भए । करण केसीले २ विकेट झारे भने रुपेश सिंह र कुशल भुर्तेलले एक–एक विकेट लिए । टेरीटरीका जेक स्मिथले सर्वाधिक ५० रन योगदान गरे । जाक केघले २५ रन बनाए भने काइ ब्रंकर २६ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल खडा गरेको थियो । नेपालका ओपनर आसिफ शेखले ३८ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । कप्तान रोहित पौडेलले ३६ रन बनाए ।

नेपालले आजै दोस्रो टी–२० खेल्नेछ । त्यसपछि २८ र ३० भदौमा साउथ अष्ट्रेलियाविरुद्ध दुई टी–२० र एकदिवसीय खेल निर्धारित छन् ।

यसअघि टप एन्ड टी–२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं स्थानमा रहेको थियो । आगामी विश्वकप छनोटलाई लक्षित गर्दै अष्ट्रेलिया भ्रमणलाई नेपाली टोलीले विशेष तयारीको रूपमा लिएको छ ।