काठमाडौँ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले मंगलबार आफ्नो चौथो खेल होबार्ट हरिकेन्सविरुद्ध खेल्दैछ ।
डार्विनस्थित पार्मर्स्टनको काजालिस एरेनामा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ । नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गर्दैछन् भने होबार्टको कप्तानी बिग ब्यासमा खेलिसकेका अनुभवी म्याकालिस्टर राइटले सम्हालिरहेका छन् ।
नेपाल हालसम्म खेलेका तीनै खेलमा पराजित भएको छ । पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश एसँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले हार बेहोरेको थियो ।
होबार्टले भने तीन खेलमा एक जित निकालेको छ । उसले पहिलो खेलमा एसीटीलाई हराएको भए पनि त्यसपछि मेलबर्न स्टार्स र एनटी स्ट्राइकसँग पराजित भएको थियो ।
सिरिजमा ११ टोली सहभागी छन् र प्रत्येकले ६–६ खेल खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनल पुग्नेछ । हाल नेपाल अंकविहीन रहँदै पुछारबाट दोस्रो स्थानमा छ ।
नेपालले यसअघि बुधबार मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्ने कार्यक्रम रहेको छ ।