नेपालको “अन्न भण्डार” भनेर चिनिने तराई अहिले गम्भीर कृषि संकटको संकेत देखाइरहेको छ । परम्परागत रूपमा देशको कुल अन्न उत्पादनको ठूलो अंश दिने यो क्षेत्र पछिल्ला केही वर्षदेखि निरन्तर खडेरी र वर्षाको अनियमितताले प्रभावित हुँदै आएको छ । अझ यस बर्ष उल्लेख्य पानी नपर्नाले कति ठाउँमा आधा रोपाईं पनि हुन सकेको छैन ।
वर्षा नहुनु, सिँचाइको अभाव, जलवायु परिवर्तन तथा मानव निर्मित कारणले गर्दा यहाँ अन्न उत्पादन प्रभावित भएको छ । यस्तो समस्याले देशको खाद्य सुरक्षामाथि नै संकट उत्पन्न गर्न सक्ने देखिन्छ । तराई जस्तो उर्वर भूभागमा यो अवस्था उत्पन्न हुनु गम्भीर कृषि संकटको संकेत हो । कृषि उत्पादनमा आउने गिरावटको प्रभाव सम्पूर्ण देशको खाद्य सुरक्षामाथि पर्छ ।
विगत केही वर्षदेखि हामीले भोग्दै आएको प्राकृतिक विपद् तथा खडेरी लगायतका समस्याले प्राकृतिक सम्पदाले भरिपूर्ण नेपाल अब वातावरणीय संकटतर्फ उन्मुख हुँदै गएको प्रतित हुन्छ । पछिल्ला वर्षहरूमा मौसम चक्रको असन्तुलन, वर्षाको अनियमितता, तापक्रमको वृद्धि, र जलवायु परिवर्तनका प्रभावले देशमा गम्भीर खडेरी समस्या निम्त्याएको छ । खासगरी तराई र मधेस क्षेत्र यसबाट बढी प्रभावित हुँदै आएको छ । खडेरीको मुख्य जड भनेको वातावरणीय असन्तुलन हो, जसको समाधान तत्काल र दीर्घकालीन दुवै दृष्टिकोणबाट खोजिनुपर्छ । खडेरी केवल वर्षा नहुनु मात्र होइन; यो मानवद्वारा सिर्जित वातावरणीय असन्तुलनको जटिल परिणाम हो । अवैध रुपमा हुने जंगल फँडानी र डढेलोले वर्षा चक्रमा प्रतिकूल असर पार्दछ । हरियाली क्षेत्र हटाइएर कंक्रिटले भरिने प्रक्रियाले भू–उष्मा प्रभाव बढाउँछ । इनार, कुवा, नदी, पोखरी आदिको संरक्षणमा ध्यान नदिँदा पानीको सतह घट्दो छ । वायुमण्डलीय कार्बन, धूलो धूवाँका कारण मौसम प्रणाली अस्थिर हुन्छ। विश्वव्यापी रूपमा बढिरहेको तापक्रमले नेपालको मौसम प्रणालीमा गहिरो असर पारेको छ ।
तराईको समथर जमिन, उर्वर माटो र अनुकूल मौसमका कारण यहाँ धान, गहुँ, मकै, तोरी, गन्नालगायतका मुख्य बाली उत्पादन हुने गर्दछन् । नेपालका अधिकांश कृषि उपज यही क्षेत्रबाट देशभर आपूर्ति हुन्छ । तर, खडेरीका कारण जमिनमा चिरा परेका छन्, धानका ब्याड सुक्न थालेका छन्, लगाइएको बालीनाली पनि सुक्न थालेका छन् र कृषकहरू मर्कामा परेका छन् ।
खडेरी निम्त्याउने प्रमुख कारणहरूमा असामयिक वर्षा, वर्षाको मात्रा घट्नु, भूगर्भीय जलको अत्यधिक दोहन, जंगलको विनाश, जलाशयको कमी, र सिँचाइको अस्थायीत्वीय संरचना मुख्य हुन् । जलवायु परिवर्तनका कारण बर्खा ढिलो सुरु हुनु र समयमै अन्त्य हुनुजस्ता घटनाले बालीको सिजनमै असर पार्न थालेको छ । धेरै क्षेत्रमा इनार, ट्युबवेल तथा सिँचाइ कुलोको सुविधा भए पनि ती समयमै सञ्चालनमा आउन नसक्दा खेतिकिसानी झनै भयावह बनेको छ । जलवायु परिवर्तनको असरले वर्षाको समय, मात्रा र स्वरूपमा अस्थिरता आएको छ, जसले कृषकको परम्परागत खेती प्रणालीलाई असर पुर्याइरहेको छ ।
खडेरीका कारण उत्पादन घट्नुका साथै कृषि क्षेत्रको लागत बढेको छ । कृषकहरूले बिउ, मल, मजदुरी लगायतमा लगानी गरे पनि समयमै पानी नपाएर सिंगो मेहनत बर्बाद हुन थालेको छ । कतिपय ठाउँमा बिउ नै नउम्री सुक्ने, रोपेका बाली मरिने र फल नलाग्ने अवस्थाले किसानमा निराशा फैलिएको छ ।
यस समस्याबाट पार पाउन दीर्घकालीन र दूरदर्शी नीति आवश्यक छ । आधुनिक सिँचाइ प्रणालीको विकास, जल संरक्षण, वर्षा पानी सङ्कलन, जलवायु अनुकूल खेती प्रणाली तथा कृषकमा सचेतना फैलाउन सरकार र सम्बन्धित निकायले ठोस कदम चाल्नुपर्छ ।
यदि अहिलेको समस्यालाई बेवास्ता गरियो भने भोलिका दिनमा यो खाद्य संकटको भयावह रूप लिन सक्छ । त्यसैले ‘तराईको समृद्धि भनेको नेपालको समृद्धि’ हो भन्ने बुझेर खडेरी समाधानमा सबै मिलेर लाग्न आवश्यक छ । खडेरी अब एक मौसमी समस्या मात्र रहेन; यो अब जलवायु संकट, कृषि संकट र खाद्य सुरक्षाको संकटको जड बन्दै गएको छ । यस्तो गम्भीर समस्यालाई समाधान गर्न तत्काल राहत कार्यक्रम मात्र होइन, दीर्घकालीन र दूरदर्शी नीति आवश्यक छ । राज्य, निजी क्षेत्र, स्थानीय समुदाय र नागरिकहरू सबैको साझा प्रयासमार्फत मात्र यो समस्याबाट पार पाउन सकिन्छ ।
यस्तो स्थितिमा देशलाई खाद्यान्न आयातमा झन निर्भर बनाउने खतरा बलियो हुन्छ । वातावरणीय परिवर्तनले मौसमको नियमिततालाई नै अव्यवस्थित बनाएको छ । अतिवृष्टि, अनावृष्टि, असिना, खण्डावृष्टि र हुरीजस्ता प्राकृतिक विपद्को असर सिधै खेतबारीमा पर्छ । जलवायु परिवर्तनको जोखिममा उच्च मुलुकहरूमध्ये नेपाल पनि एक हो । यस्तो अवस्थामा टिकाउ कृषि प्रणाली अब आवश्यकता होइन, अपरिहार्यता बनिसकेको छ ।
जलस्रोतको दिगो व्यवस्थापन, बिउ तथा मलको समयमै आपूर्ति, सहुलियत ऋणको पहुँच, कृषिमा आधुनिक प्रविधिको प्रयोग, कृषि बीमाको विस्तार र किसानलाई प्रत्यक्ष राहत उपलब्ध गराउने व्यावहारिक प्रणालीको स्थापना अहिलेको प्रमुख कार्यसूची बन्नुपर्छ । स्थानीय सरकारदेखि संघीय सरकारसम्म एकीकृत रूपमा कृषि संकटलाई सम्बोधन गर्न तत्पर हुनुपर्छ । नेपालको कृषि अब हावामा टिकेको नाराले बच्न सक्दैन । व्यवहारमा खेती योग्य जमिन बाँझिनु, उत्पादन घट्नु, र किसानको पेशाबाट विमुख हुनु हाम्रो खाद्य सुरक्षालाई गम्भीर जोखिममा पार्दैछ । सरकार, नीति–निर्माता, विज्ञ र जनताको साझा प्रयत्नले मात्र यो संकटको सामना गर्न सकिन्छ । समस्या पहिचानपछि निष्क्रियता स्वीकार्य हुँदैन । अब समय छ- कृषिलाई प्राथमिकतामा राख्ने, किसानलाई सम्मान दिने र आधुनिक प्रणालीमा रूपान्तरण गर्ने । खेतीयाम हराउने बेलामा चेत नपाउने हो भने भोलि वर्ष खाना हराउने अवस्था आउनसक्छ ।
वर्तमान खडेरी र बर्खाको अनियमितता केवल एक मौसमी समस्या होइन, यो नेपालजस्तो कृषिमा निर्भर राष्ट्रको संरचनागत कमजोरीको द्योतक हो । खेतीपातीको याम गुम्न लाग्दामात्र सरकार सक्रिय हुने प्रवृत्तिले किसानको भविष्य सुनिश्चित गर्न सक्दैन । अब आवश्यकता छ, तत्कालिक राहतभन्दा बाहिर जानसक्ने दीर्घकालीन दृष्टिकोण र व्यावहारिक रणनीतिको । देशको खाद्य सुरक्षालाई आत्मनिर्भर बनाउने हो भने कृषिलाई प्राथमिकतामा राखेर नीतिगत रूपान्तरण गर्नैपर्छ । जलवायु परिवर्तनका असरलाई ध्यानमा राख्दै स्थानीय विशेषता अनुसार कृषि प्रणाली विकास गर्नुपर्छ । किसानलाई केवल सान्त्वना होइन, उचित उपकरण, स्रोत र सीप प्रदान गर्नुपर्छ ।
कृषि क्षेत्रमाथि पर्ने प्राकृतिक र मानवीय दुःखकष्टको स्थायी समाधान भनेको वैज्ञानिक सोच, समयमै योजना र प्रतिबद्ध कार्यान्वयन हो । यदि आजको संकटलाई पाठका रूपमा लिएर अबको नीति बनाइएन भने, केवल बर्खामात्रै होइन, देशको भोलि नै सुख्खा हुनसक्छ । जलवायु परिवर्तनका असरहरूलाई ध्यानमा राख्दै अबको नीति वातावरणमैत्री, वैज्ञानिक र समयसापेक्ष हुनुपर्नेछ । किसानहरूलाई सहयोगको सट्टा आश्वासन बाँड्ने परिपाटीले अब काम गर्ने छैन । तराईको खडेरी, सम्पूर्ण राष्ट्रको चेतावनी हो । अब पनि सचेत नहुने हो भने भोलिका दिनहरू अझै भयावह हुनसक्छन् ।