काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्डबीच २०२६ देखि लागू हुने गरी प्रत्येक वर्ष पुरुष र महिला राष्ट्रिय टोलीबीच द्विपक्षीय सिरिज आयोजना गर्ने सैद्धान्तिक सहमति भएको छ।
सहमतिअनुसार हरेक वर्ष ‘होम एण्ड अवे’ आधारमा कम्तीमा तीन वटा टी–२० अन्तर्राष्ट्रिय खेलहरू तथा थप ५० ओभरका खेलहरू सञ्चालन गरिनेछ।
यो रणनीतिक साझेदारीले एसोसिएट राष्ट्रहरूबीचको अन्तर्राष्ट्रिय अनुभव विस्तार गर्ने र प्रतिस्पर्धात्मक क्रिकेटलाई प्रवर्द्धन गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
दुवै टोली २०२६ को एशिया रिजनल क्वालिफायरमा एउटै समूहमा छन् । जसले भविष्यमा रोमाञ्चक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
यो साझेदारीले उदाउँदा खेलाडीहरूका लागि प्रतिस्पर्धात्मक अवसरहरू सिर्जना गर्नुका साथै कुवेतमा रहेका नेपाली समुदायसँगको सांस्कृतिक तथा क्रिकेटीय सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
यो वार्षिक सिरिज एसोसिएट राष्ट्रहरूका लागि साझा विकास, अन्तरक्रिया र उत्कृष्टताको सशक्त माध्यम बन्ने क्यानले जनाएको छ ।