नेपाललाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेकामा बधाई ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो पटक अवार्ड जितेकामा बधाई ज्ञापन गर्नुभएको हो ।
“गत वर्ष हामीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड प्राप्त गरेका थियौँ । दोस्रो पटक पनि नेपाललाई यो अवार्ड प्राप्त भएको छ । नेपालीको नशा नशामा क्रिकेट छ । हामी सबैलाई बधाई १” प्रधानमन्त्रीले ओलीले सामाजिक सञ्जालमा भनेका छन् ।
सिङ्गापुरमा आइतबार भएको आइसिसीको वार्षिक सम्मेलनमा नेपाललाई उक्त अवार्ड प्रदान गरिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड प्राप्त गरेको हाे ।
आइसिसीको वार्षिक कन्फरेन्समा यो अवार्ड क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले ग्रहण गरे ।
यो समूहमा क्षेत्रीय विजेताका रूपमा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, एसियाबाट नेपाल र इस्ट एसिया प्यासिफिकबाट इण्डोनेसिया ग्लोबल छनोटमा पुगेका थिए । फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्स र नयाँ सुरु गरिएको क्यान डोमेस्टिक फेसबुक पेजमार्फत् गरिएको रणनीतिक विस्तारले करिब ११७ मिलियन पहुँच पुर्याएको छ । फलोअर्स संख्या करिब ११.७ लाखबाट १५.९ लाखसम्म पुग्दै चार लाख २० हजारभन्दा बढी नयाँ फलोअर्स थपिएका छन् ।
फेसबुकमा भिडियो हेर्ने समय दोब्बर हुँदै एक करोड ३४ लाख मिनेटभन्दा बढी पुगेको छ भने डोमेस्टिक पेजले मात्रै ४४ लाख मिनेटभन्दा बढी वाच टाइम हासिल गरेको छ ।
युट्युब वाच टाइम २७७ प्रतिशतले वृद्धि हुँदै २१ लाख ३० हजार घण्टा पुगेको छ । इन्स्टाग्राममा भ्युज चार करोडभन्दा बढी पुगेका छन्, जसमा खेलका हाइलाइट्स, खेलाडीका कथाहरू र लाइभ अपडेटहरूले फ्यानलाई आकर्षित गरेका छन् ।
नेपाली क्रिकेटप्रति सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममा देखिएको यही समर्थन र संलग्नताका आधारमा अवार्ड दिइएको हो । नेपाली क्रिकेटलाई देशभित्र मात्र नभएर देशबाहिर पनि व्यापक समर्थन प्राप्त हुँदै आएको छ ।