शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

साफ महिला यु-२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा

सोमबार, साउन ५ २०८२

काठमाडौँ । साफ महिला यु–२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र घरेलु टिम बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रतियोगितामा हालसम्म सर्वाधिक ३० गोल गरिसकेको नेपाल लिग चरणमा बेहोरेको हारको जवाफ मैदानमै फर्काउन प्रतिबद्ध देखिन्छ। दुईबीचको खेल आज साँझ पौने ७ बजे ढाकामा हुनेछ। अपेक्षा अनुरूप उपाधि विजेताको छिनोफानो यी दुई टिमबिच हुने अन्तिम खेलबाट हुने भएको छ।

चार टिम सम्मिलित यस प्रतियोगिता डबल लिगका आधारमा भइरहेको छ। त्यसैले यस प्रतियोगितामा फाइनलको प्रावधान छैन। दोहोरो लिगपछि अङ्कतालिकाको शीर्ष स्थानमा रहने टिमलाई च्याम्पियन घोषित गरिने छ। जुन उपाधि होडमा अब बङ्गलादेश र नेपाल मात्र बाँकी भएको हो।

भुटान र श्रीलङ्का उपाधि होडबाट बाहिरिसकेका छन्। नेपाल पहिलो पटक र बङ्गलादेश लगातार दोस्रो पटक साफ यु–२० उपाधि जित्ने अभियानमा रहेको छ। अघोषित फाइनलमा रूपान्तरण भएको अन्तिम खेलमा घरेलु टिम बङ्गलादेश केही फाइदामा छ। बङ्गलादेशले पाँच खेलबाट १५ र नेपालले चार खेलबाट १२ अङ्क बनाएका छन्।

त्यसैले घरेलु मैदानको फाइदा र समर्थकको ऊर्जामा खेल्ने बङ्गलादेशलाई बराबरीले पनि च्याम्पियन बनाउने छ। नेपाललाई भने जितले मात्र उपाधि दिलाउने छ। गोल अन्तर बङ्गलादेशको भन्दा राम्रो रहेकाले नेपाललाई बढी गोल गरेर खेल जित्नुपर्ने दबाब भने छैन। नेपाली युवा महिला फुटबल टिम सानदार लयमा पनि छ। यस प्रतियोगितामा नेपालले भुटानलाई ६–१ र ८–० तथा श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलको फराकिलो अन्तरले हराएको थियो।

नेपाल घरेलु टिम बङ्गलादेशसँग अन्तिम सेकेन्डमा गोल बेहोरेर ३–२ ले स्तब्ध भएको थियो । त्यसैले पनि नेपालको मनोबल उच्च नै देखिन्छ । बङ्गलादेशले श्रीलङ्कालाई ९–१ तथा ५–० र भुटानलाई ४–१ तथा ३–० ले पराजित गरेको थियो । नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले बङ्गलादेशसँगको लागि नेपाल तयार छ रहेको बताएका छन्।