शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एसियन कपमा छनोटका लागि आज उज्वेकिस्तानसँग भिड्दै नेपाल

शनिबार, असार २१ २०८२

काठमाडौं । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल र घरेलु टोली उज्वेकिस्तान आज आमने-सामने हुँदैछन् । अष्ट्रेलियामा अर्को वर्ष हुने एसियन कपमा स्थान बनाउने सपना साकार पार्न दुवै टोलीलाई जित्नै पर्ने दबाब छ ।

समूह चरणमा नेपाल र उज्वेकिस्तानले समान दुई खेलमा विजय हासिल गर्दै ६/६ अंक जोडेका छन् । दुवैले समान १७ गोल गरेका छन् ।

यसैका आधारमा समूहको शीर्ष स्थानका लागि आजको खेल निर्णायक बन्नेछ । समूह ‘एफ’बाट लाओस र श्रीलंका भने लगातार दुई हारपछि छनोट चरणबाट बाहिरिसकेका छन् ।

आज को खेलमा विजेता बन्ने टोलीले एसियन कपको टिकट कटाउनेछ । खेल निर्धारित ९० मिनेटमा बराबरीमा टुंगिए टाइब्रेकरमा जाने व्यवस्था गरिएको छ ।

प्रशिक्षक प्याट्रिक डी वाइल्डेले नेपाली टोली अन्तिम क्षणसम्म लड्ने प्रतिबद्धता जनाएका छन्।

नेपालले समूह चरणको पहिलो खेलमा लाओसलाई नौ–शून्यले र दोस्रो खेलमा श्रीलंकालाई आठ/शुन्यले पराजित गरेको थियो । उता उज्वेकिस्तानले श्रीलंकालाई १०/शून्य र लाओसलाई सात/शून्य ले हराएको थियो ।