काठमाडौं । एसीसी यु-१६ : भुटानलाई नेपालले ३५८ रनको विशाल लक्ष्य दिएको छ ।
समूह चरणको अन्तिम खेलमा टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित पूरा ओभर खेल्दै ५ विकेटको क्षतिमा ३५८ रन बनाएको हो ।
नेपालका रौनक श्रीवास्तव एक्लैले १३२ बल खेल्दै १६८ रन बनाए । जोय थापा ६१ रनमा अभिजित रहे ।
पहिलो ओभरमै विकेट गुमाएर खराब सुरुवात गरेको नेपालका लागि शिवांश बजगाईंले र श्रीवास्तवले उत्कृष्ट साझेदारी गरे । बजगाईंले ५२ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ५४ रन बनाएर आउट भए । राैनक एक्लैले १३२ बल खेल्दै १६८ रन बनाएर अन्तिम ओभरमा आउट हुन पुगे ।
समूह चरणका तीन खेलमा विजयी भएको नेपाल एक खेल अगाडि नै सेमिफाइनल प्रवेश गरिसकेको छ। समूह ‘ए’का तीन खेलमा तीन जित निकाल्दै शीर्ष स्थानमा रहेको नेपालले आज भुटानसँग प्रतिस्पर्धा गरेको हो।
पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा इन्डिोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको नेपाल समूह चरणको अन्तिम खेलमा भुटानलाई हराउने लक्ष्यका साथ मैदानमा हुनेछ।
प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।
दुई समूहका विजेता र उपविजेताले समेफिाइनल खेल्नेछन्। सेमिफाइनलमा विजयी टिमले फाइनलमा प्रतिस्पर्धा गर्दा पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रयोगिताको फाइनल असार २१ गते हुँदैछ।