शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

फिनिसिङमा चुक्दा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

सोमबार, जेष्ठ २६ २०८२

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो । ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा  ३२१ रनमा समेटियो ।

अन्तिम ओभरमा सम्हालिन नसक्दा नेपाल ऐतिहासिक जित नजिक पुगेर हार बेहोर्नुपर्‍यो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ७ रन आवश्यक थियो । पहिलो बलमा २ रन ल्याएका करण दोस्रो बलमा कुनै पनि रन जोड्न सकेनन् र तेस्रो बलमा क्याच आउट भए । अन्तिम ३ बलमा नेपाललाई ५ रन आवश्यक थियो । चौथो र पाँचौ बलमा एकएक रन जोडेपनि अन्तिम ओभरमा आउट हुने पुगे ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रनको योगदान दिए । उनले ८५ बलमा ८ चौकाको सहयोगमा ७३ रनको अर्धशतकीय इनिङ खेलेका हुन् । भीमले आरिफ शेखसँग मिलेर ९४ रनको साझेदारी गरे । शेख ५५ बलमा ५ चौकाको सहयोगमा ३९ रनमा आउट भए ।

त्यसैगरी उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकाको सहयोगमा ५६ रन जोडे । उनले  सातौँ विकेटका लागि सोमपाल कामीसँग मिलेर १०५ रनको महत्त्वपूर्ण साझेदारी गरे । सोमपाल ४४ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६७ रनमा आउट भए ।

स्कटल्यान्डका म्याकेन्जी जोन्सले तीन विकेट लिए भने शफिया शरिफ र माइकल लिस्कले २–२ विकेट लिए । त्यसैगरी ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले समान १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रनको योगफल बनाएको थियो ।

स्कटल्यान्डका लागि रिची बेरिङ्टनले ११४ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक १०२ रनको योगदान गरे । माइलक लिस्कले ६२ बलमा १२ चौका र तीन छक्कासहित  ९६ रनमा अविजित रहे । यसैगरी चार्ली टियरले ६५ बलमा ९ चौकाको मद्दतले ६८, मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाए ।

नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए ।