एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यस महिना आयोजना हुने क्लब विश्वकपमा सहभागी नहुने घोषणा गरेका छन्।
४० वर्षीय रोनाल्डोको साउदी अरेबियन क्लब अल-नासरसँगको सम्झौता जुनको अन्त्यमा सकिँदैछ।
गत मेमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अल नासार छनोट हुन असफल भएपछि क्लब विश्वकप खेल्ने टिमले रोनाल्डोसँग छलफल गरिरहेको बताएका थिए । तर रोनाल्डोले आफू क्लब विश्वकपमा सहभागी नहुने घोषणा गरेका हुन् ।
यूएफा नेसन्स लिगको फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नुअघि भएको पत्रकार सम्मेलनमा रोनाल्डोलाई क्लब विश्वकप खेल्नेबारे प्रश्न सोधिएको थियो । जसमा कप्तान रोनाल्डोले केही क्लबहरूको प्रस्ताव आएको बताउँदै सबै प्रतिस्पर्धा खेल्न नसकिने जवाफ दिए ।
रोनाल्डो र साउदी प्रो लिग क्लब नासारबीचको सम्झौता जुनको अन्त्यमा सकिँदैछ । रोनाल्डोले सामाजिक सञ्जालमा, लिगको अन्तिम खेलपछि च्याप्टर सकिएको लेखेका थिए । जसलाई रोनाल्डोले नासारसँगको सम्झौता नवीकरण नगर्ने संकेतका रूपमा बुझिएको छ ।
म्यानचेस्टर युनाइटेडसँगको सम्झौता तोडेपछि रोनाल्डो सन् २०२३ मा अल-नासरमा अनुबन्धित भएका थिए। उनले क्लबका लागि १११ खेलमा ९९ गोल गरेका छन्। जसमा गत सिजन मात्र ४१ खेलमा ३५ गोल समावेश छ।