भर्जिनिया । अमेरिकामा चार जना नेपाली मृत फेला परेका छन् । भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक, र ८ वर्षीया बालिका रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको छ । घटनालाई हत्यापछि आत्महत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
जुन ५ को राति १०ः४० बजे प्रहरी टोलीलाई लाने लेनको ९४०० ब्लकमा रहेको एक घरमा जाँचका लागि बोलाइएको थियो।
घरधनीले आफ्ना भाडामा बस्ने व्यक्तिहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीहरू तलको अपार्टमेन्टमा प्रवेश गर्दा चार जनाको शव फेला परेको थियो । घटनास्थलमा एक थान बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ।