काठमाडौं । हरियाणाको पंचकुलामा एउटा कारभित्र एकै परिवारका सात जना मृत फेला परेका छन् ।
पंचकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बताइन्। उनले भनिन् ‘प्रथम दृष्टिमा यो आत्महत्याको घटना देखिन्छ’।
समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू देहरादूनका एकै परिवारका सदस्य थिए। समाचार एजेन्सीका अनुसार एक दम्पती, उनीहरूका तीन छोराछोरी र दुई वृद्ध सदस्य कारभित्र मृत अवस्थामा फेला परेका छन् ।
मृतकहरुमा ४२ वर्षीय देहरादून निवासी प्रविण मित्तल, उनका बाबुआमा, श्रीमती र तीन जना सन्तान-दुई छोरी र एक छोरा रहेको बताइएको छ ।
प्राप्त जानकारी अनुसार, मृतक परिवारलाई स्थानियहरूले कारमा छटपटाइरहेकाे अवस्थामा देखेका थिए। उनीहरूले आपतकालीन सेवालाई जानकारी गराएपछि प्रहरी कन्ट्रोल रूम (PCR) घटनास्थलमा पुगेकाे थियाे ।
घटना आत्महत्याजस्तो देखिए पनि सबै फोरेन्सिक प्रमाणहरू संकलन गरी अनुसन्धान भइरहेको बताइएको छ ।
-एजेन्सी