काठमाडौं । नेकपा (एमाले)ले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
लोकतन्त्र दिवसको अवसर पारेर एमालेले दिउँसो १ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा ४० वर्षमुनिका एक लाख युवाहरुलाई उतार्ने एमालेको तयारी छ ।
कार्यक्रम सहजीकरण टिमका संयोजक माधव ढुङ्गेलका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त शुभकामना मन्तव्य राख्ने र बाँकी सबै वक्ता युवा रहनेछन् ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी सेख, शिवकुमारी चौधारी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवाहरूले आफ्नो धाराणा राख्नेछन्।
कार्यक्रममा आउनेको मोटरसाइकल र स्कुटर पार्किङको लागि बग्गीखानामा व्यवस्था गरिएको छ भने मिनि र ठुला बसका लागि टुँडिखेल र साना गाडीको लागि रङ्गशालामा व्यवस्था मिलाइएको छ । जहाँ कफीसप, फुडस्टल, युवाले उत्पादन गरेका समानको स्टल हुने आयोजकको दाबी छ ।
कार्यक्रममा सहभागी हुन देशभरका युवाहरू काठमाडौंमा भेला हुने क्रम जारी छ ।