काठमाडौँ । स्वर्गद्वारी गुठीपीडित संघर्ष समितिले विभिन्न माग राखी आजदेखि माइतीघर मण्डलामा धर्ना कार्यक्रम सुरु गरेको छ।
दाङको लमही, घोराही, तुलसीपुरबाट आएका उनीहरूले दिनभर बसेर धर्ना दिने कार्यक्रम रहेको संघर्ष समितिका सहसचिव प्रविन दहितले जानकारी दिए।
दाङबाट आएका उनीहरू काठमाडौँको गौशालास्थित पशुपति धर्मशालामा बसेका छन्।
आज बिहान धर्मशालाबाट ब्यानर, प्लेकार्ड, हलो, कोदालो, ढाकीसहितको र्याली गौशाला, रातोपुलकरिडोर हुँदै सेतोपुल, बिजुलीबजार हुँदै माइतीघर मण्डला पुगेर धर्नामा बसेको हो।
कानुनी जटिलताका कारण नेपालको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गुठी स्वर्गद्वारी आश्रमको जग्गामा द्वैध स्वामित्व कायम छ । मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था गर्न,विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निस्काशित मोहीको हक पुनर्स्थापित गर्न र किसानले बुझाउनु पर्ने रैतानी वापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गरिदिन उनीहरुको माग छ ।
२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति विरोधमा उत्रिएको हो । उनीहरुले दुई बुँदे सहमति कार्यान्वयन हुनुपर्ने प्रमुख माग राखेका छन् ।