मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

जनसरोकारका विषय संसदमा एकमत भएर उठाउने विपक्षी दलहरुको निर्णय

सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने

बिहिबार, माघ १७ २०८१

काठमाडौं । विपक्षी दलहरुले शुक्रवारबाट सञ्चालन हुने संसद अधिवेशनमा जनसरोकारका विषयहरु एकमत भएर उठाउने निर्णय गरेको छ ।

बिहीवार प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै उनीहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सात दलहरु सहभागी भएको र बैठकले शुक्रवारबाट सञ्चालन हुने संसद अधिवेशनमा जनसरोकारका विषयहरु एकमत भएर उठाउने निर्णय गरेको बताए ।

बैठकले अध्यादेश सरकारले गलत विधि र प्रक्रियामार्फत ल्याएको र यसलाई अस्वीकार गर्ने निर्णय भएको उनले बताए ।

उनकाअनुसार विपक्षी दलहरुले संसद बोलाउने बेलामा नै अध्यादेश ल्याउनु गलत मनशाय रहेको निस्कर्ष निकालेको छ ।

प्रमुख सचेतक पाण्डेले सरकार अध्यादेशका माध्यमबाट जानेकुरा बेठिक भएको निस्कर्ष निकालेको बताए । सदनलाई सशक्त ढंगबाट जनताका आवाज मुखरित गर्ने ठाउँ बनाउनुपर्ने उनको भनाइ थियो ।

उनले सरकारबिरुद्ध आवश्यक परे सडक आन्दोलनको तयारीसमेत गर्ने चेतावनी दिए ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, प्रभु साह नेतृत्वको आम जनता पार्टी सहभागी थिए ।