काठमाडौं । नकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आफ्नो पुरानो पार्टी नेकपा (एमाले) मै फर्किने तयारी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवाद सकारात्मक भएपछि २०७८ सालमा एमाले परित्याग गरी नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका नेता गौतम पुरानै पार्टीमा फर्कन लागेका हुन्।
यसअघि एकीकृत समाजवादीमा जान सबै कुरा मिलिसकेको बताएका गौतमले एमालेको केन्द्रीय कमिटि बैठकले पार्टीमा फर्किन आह्वान गरेसँगै एमालेमै फर्किने तयारी थालेका छन् ।
गौतम निकट एक नेताका अनुसार एमाले अध्यक्ष ओलीले गौतमलाई छिट्टै पार्टी प्रवेश गराउने गरी कार्यक्रम राख्ने आश्वासन दिएका छन् ।
यता प्रधानमन्त्री ओलीको सचिवालयले पनि नेता गौतमसँगको संवाद सकारात्मक भएको बताएको छ ।
यता गौतम निशर्त एमालेमा फर्किन लागेपछि नेकपा एकता राष्ट्रिय अभियान भने विभाजन भएको छ।
एकता अभियानका बहुमत केन्द्रीय सदस्यले गौतमको साथ छाडेका हुन्।
आइतबार उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय समिति सदस्यले गौतमबाट अलगिएको घोषणा गरेका छन्।
अर्याल एकता अभियानका लुम्बिनी प्रदेश इन्चार्ज हुन्। त्यस्तै, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले पनि गौतमलाई छाडेको घोषणा गरेका छन्।