बुटवल । रुपन्देहीमा इँटा उद्योगमा काम गर्ने मजदुरको कुटाइबाट अर्का एक मजदुरको मृत्यु भएको छ ।
सियारी गाउँपालिका –७ हिरागन्जस्थित न्यू कामना इँटा उद्योगमा काम गर्ने एक भारतीय नागरिकको कुटपिटबाट मृत्यु भएको हो ।
सियारी-६ का १९ वर्षीय कृष्ण केवटको कुटपिटबाट भारतको गोरखपुर जगलका अन्दाजी ४० वर्षीय निष्ठुरी केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारकै क्रममा गएराति साढे ११ बजे मृत्यु भएको थियाे ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार निष्ठुरी केवटको छातीमा चोट देखिएकाले कृष्णले इँटाले हानेको हुन सक्ने अनुमान गरिएको छ ।
कृष्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।