काठमाडौँ। पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री डा भीम रावलले नयाँ राजनीतिक पार्टी ‘मातृभूमि जागरण अभियान, नेपाल’ गठनको घोषणा गरेका छन्।
नेकपा एमालेबाट निष्कासनपछि उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीको अवधारणा र संगठनात्मक संरचना सार्वजनिक गरेका हुन्।
रावलका अनुसार पार्टीले वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन विस्तार गर्नेछ। प्रत्येक तहमा भेला गराई १५ देखि २५ सदस्यीय समिति गठन गरिनेछ। आवश्यकता अनुसार भेलामा सहभागी सदस्यहरूको संख्याले परिषद् गठनको आधार तय गर्ने उनले बताएका छन्।
रावलले आफ्नो पार्टीले राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र आर्थिक समृद्धिलाई मूल एजेन्डा बनाउने बताए। उनले पार्टीलाई पारदर्शी, इमानदार र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै, नयाँ पुस्ताको नेतृत्व विकासमा विशेष जोड दिने बताएका छन्।
पार्टीको संगठनात्मक संरचना वडा स्तरदेखि केन्द्रसम्म समावेशी र क्रियाशील रहने छ। पार्टीको नेतृत्व पद्धति लोकतान्त्रिक प्रक्रिया मार्फत हुनेछ भने संगठनलाई मजबुत बनाउन आन्तरिक प्रशिक्षण र छलफललाई प्राथमिकता दिइने छ।
रावलको नेतृत्वमा स्थापना भएको ‘मातृभूमि जागरण अभियान, नेपाल’ ले आगामी दिनमा कस्तो प्रभाव पार्नेछ भन्नेमा आम चासो रहेको छ। पार्टीले अबको केही दिनमा आफ्नो विस्तृत कार्ययोजना सार्वजनिक गर्ने तयारी गरिरहेको उनले बताएका छन् ।
रावलले यस अघि नै ‘गैरकम्युनिस्ट’ प्रकृतिको पार्टी गठन गर्न लागेको जनाएका थिए । अहिले उनले दिएको पार्टीको नाम हेर्दा उनको पार्टी गैरकम्युनिस्ट जस्तो देखिन्छ । लामो समय कम्युनिस्ट राजनीति गरेका रावलले गैरकम्युनिस्ट दल बनाएसँगै उनको दलमा पूर्व एमालेहरुले साथ दिने सम्भावना कम भएको चर्चा हुन थालेको छ ।
जीवनभरि कम्युनिस्ट आन्दोलनमा लागेका रावलले गैरकम्युनिस्ट दल बनाउनुलाई आफ्नै राजनीतिप्रति विचलनका रुपमा हेरिन थालेको छ ।
रावलले केहीदिन अघि नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशसभा सदस्य ताराप्रसाद जोशीलाई समेत भेटेका थिए । तर हाल उनले सामाजिक सञ्जालमा पोष्ट गरेका कागजात हेर्दा त्यहाँ उनीहरुको सम्लग्नता देखिएको छैन ।
यसैलाई सरसर्ती हेर्दा एमालेबाट निस्कासित रावल एक्लो वृहस्पति हुने सम्भावना पनि देखिन्छ । रावलको सुदूरपश्चिममा राम्रो प्रभाव रहेको भनिएता पनि उनको पुरानो दल एमालेका कति नै कार्यकर्ताले एक्लो व्यक्ति उनलाई साथ देलान् भन्ने अर्को प्रश्न छ ।