मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

रवि र छविविरुद्ध आज रुपन्देहीमा पुरक अभियोजन मुद्दा दर्ताको तयारी

शुक्रबार, माघ ४ २०८१

रुपन्देही । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी सस्थाको रकम अपचलनसम्बन्धी थप अभियोजन मुद्दा आज दर्ता हुँदैछ ।

हिजो अबेर सहकारी सस्थाको रकम अपचलनसम्बन्धी थप अभियोजन मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालयले पूरक अभियोजन समय अभावका कारण आज दर्ता गर्न लागेको हो ।

सरकारी वकिल कार्यालयले दुवै अभियोजन दर्ता गर्ने तयारी गरेको थियो । वैशाख ३ गते दर्ता भएको मुद्दामा प्रतिवादी बनाइएका सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध वैशाखमा मुद्दा दर्ता भएको थियो ।

यसअघि नै प्रतिवादी बनाइएका जिबी राई, ओम प्रकाश गुरुङ, सागर केसी र दिनेश रोकासहित १७ प्रतिवादीविरुद्ध संगठित अपराधमा पनि अभियोग लगाइएको छ ।

रवि लामिछाने, छविराज जोशीसहित जोडिएको पूरक जाहेरीअनुसारको अभियोजन आज दिउँसो दर्ता गर्न लागिएको हो। सुरु मुद्दाका २८ जनामध्ये १७ जनालाई थप संगठित अपराध अभियोजन थप गरिएको र ११ जनालाई ठगीमै मुद्दा चल्ने छ ।

थप र पूरक अभियोजनमा ४२ जनाबाट १ अर्ब १२ करोड रुपैयाँ माग दाबी गरिएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । त्यो मध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको प्रतिवेदनमा उल्लेख छ ।