पूर्व उपराष्ट्रपति पुनलाई पनि जिम्मेवारी दिइने
काठमाडौं । सोमबार दिउँसो बस्नेगरी तय भएको माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ ।
सोमबारका लागि बोलाइएको पदाधिकारी बैठक अध्यक्ष प्रचण्डको नीजि निवास खुमलटारमा माघ २ गते बुधबार मात्रै बस्ने भएको छ ।
पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन तोक्नेछ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलगायतका नेताहरुको कार्यविभाजन तोकेर अन्तर पार्टी निर्देशिका जारी गर्ने माओवादीको तयारी छ ।
पुनलाई माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ। पछिल्लो समय माओवादीको बैठकमा निरन्तर सहभागी हुँदै आएका पुनलाई गएको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष सरहकै कुर्सीमा राखिएको थियो।
माओवादी केन्द्रको पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय समितिको बैठकले नेताहरुको कार्यविभाजन गरेर अपानी जारी गर्ने निर्णय गरेको थियो । माओवादी अध्यक्ष ‘प्रचण्ड’ले अपानीमा अरु नेताहरुको कार्यविभाजन हुँदा पुनको पनि जिम्मेवारी टुंग्याइने बताएका थिए।