मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू

सोमबार, पुष २९ २०८१

काठमाडौँ । मनोकांक्षा पूरा गर्ने कामनाले उपत्यकाको पूर्वीभेगमा एक महिने कठोर माधवनारायण व्रत सुरू भएको छ ।

शालीनदीमा बिहानैदेखि व्रतालु एवं भक्तजनको भीड लागेको छ । स्वस्थानी व्रत र साँखु शालिनदी मेला आजदेखि सुरू भएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । मेलामा महिला, पुरूष र सात जना पूजारी गरी दुई सयभन्दा बढी व्रतालु सहभागी हुने गरी तयारी भएको शङ्खरापुर नगरापलिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । व्रतालुको यकिन आज अपराह्नसम्म हुने जनाइएको छ ।

“चार दिनसम्म व्रतालु थपघट हुन सक्छन्, व्रतालुले बिहान ५ बजे स्नान, त्यसपछि गणेशपूजा, मध्याह्नमा नित्य महादेव र पार्वती पूजा, बेलुकी साल्खाटोलदेखि ज्योतिर्लिङ्गेश्वरलगायत साँखु बजार सहस्रधारासहित परिक्रमाको कार्यक्रम हुन्छ,” उनले भने । व्रतालुले आज माधवनारायणका मूल पुजारीसँग बेलुकी जल लिएपछि जुत्ता चप्पल छुन नहुने र नून खान नहुने व्रतविधि छ ।

हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने सालीनदी मेला आज स्नान गरी सूर्यलाई अर्घ्य दिएर माधवनारायणको पूजा गरेपछि ब्रत सुरु हुन्छ।

माधवनारायण व्रतका नियम

व्रतालुले एक महिनासम्म नून, माछा, मासु, मरमसला, पशुपन्क्षी तथा जनावर, जुत्ता, मोजा, मगन्ते, रजस्वला भएकी महिला, जुत्ता, चप्पल लगाएका मान्छेलाई छुन नहुने सनातनदेखिको नियम छ । व्रतालुले दूध र पानी बाहेक अन्य पेयपदार्थ सेवन गर्नुहुँदैन ।

व्रतालुको भोजन

दूध, चामलको भात, घ्यू, चाकु, चिनी, चिउरा, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मुला र पाटने पालुङ्गो मात्र भोजन गर्नुहुने नियम रहेको माधवनारायण व्रतका विषयमा खोज गरिरहनुभएका इतिहासविद् प्रकाश श्रेष्ठ ‘सक्व’ ले बताउनुभयो । “भीमा एकादशीका दिन व्रतालुले दुई पटक व्रत बस्नुपर्छ, व्रतपछि सुन्तला, उखु, तरूल, पिँडालु, दूधलगायत फलाहार मात्र भोजन गर्ने नियम छ, भोजनमा कपाल, जौ, तिल, कोदो, मकै, गहुँ, भटमास तथा व्रतमा भोजन गर्न वर्जित गरिएका चीज आएमा भोजन छोड्नुपर्छ, यस्तो अवस्थाका लागि पहिल्यै चिउरा, चाकु, घ्यू आदि नजिकै राखेर अर्कै थालमा बसेको स्थानबाट नउठी खान सकिन्छ,” उहाँले भन्नुभयो ।

व्रतालुले भोजन गर्दागर्दै उठ्नुहुँदैन । उठेमासँगै छोएर भोजन गरिरहेका अन्य व्यक्तिलेसमेत भोजन छोड्नुपर्छ । उठेपछि फेरि भोजन गर्नुहुँदैन ।

व्रतालुले गर्न नहुने

व्रतालुले सवारी चढ्न हुँदैन । बिरामी हुँदा पनि औषधि सेवन गर्न पाइँदैन । आफन्तको जुठो, सुतक बार्नुपर्दैन । साबुन तथा अन्य वस्तु छुन तथा प्रयोग गरी स्नान गर्नहुँदैन । गोल तथा दन्तमञ्जन प्रयोग गर्नुहुँदैन । व्रतालुले उपरखुट्टी लगाएर, मेचमा र खाटमा बस्न पनि हुँदैन । नाङ्गो गोडाले एक महिना हिँडेरै व्रत समापन गर्नुपर्छ ।

परदेश यात्रा

व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरू गर्छन् । पहिलो दिन शालिनदीबाट– बज्रयोगिनी ढोकासम्म साष्टाङ् दण्डवत् गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङ्बाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिन्छ ।