काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश माधव अधिकारीको इजलासमा परेको छ।
स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारीमा रकम अपचलन सम्बन्धी मुद्दामा लामिछानेको बयान र त्यसपछि थुनछेक बहस सुरू हुने स्रेस्तेदार रामु शर्माले जानकारी दिए।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी लामिछाने अहिले जिल्ला अदालतमा उपस्थित भएका छन् ।
लामिछाने बिहान साढे ९ बजेनै अदालतमा हाजिर भएका थिए। यसअघि कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा ६५ लाख धरौटी माग गरी छाड्न आदेश दिएको थियो।
उक्त आदेशपछि काठमाडौंमा उनी आफै हाजिर हुने गरी छुटेका थिए।
स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ अपचलन भएको छ। उक्त रकम अपलचनमा सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।