काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक कारणले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिन नसकेको बताएका छन् ।
केही राजनीतिक दलहरुले संक्रमणकालीन न्यायलाई माओवादी र त्यसको नेतृत्वलाई तह लगाउने अस्त्र ठानेकै कारण बाँकी काम टुङ्गिन नसकेको उनको भनाइ थियो ।
आज वेपत्ता योद्धा राजेन्द्र ढकालको २६औं स्मरण दिवसको सन्दर्भमा आयोजित ‘शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरुको सार्वजनिकिकरणको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिन नदिने कुरा केही राजनीतिक दलको विजनेस नै बनेको बताए ।
उनले भने, ‘पीडितहरुले पटक पटक यो विषयलाई उठाइराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नु, किनकी अन्तिममा चाहीँ त सडक नै हुने हो की जस्तो मलाई अन्तरक्रिया, गोष्ठी, विवाद, बहस पनि हो । त्यसले केही नि हुँदैन भन्ने मेरो भनाइ होइन । त्यसले पनि केही न केही वातावरण बनाउन मद्दत गरेको छ । तर यहाँ विषय कानूनी भन्दा पनि राजनीतिक नै छ । १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता आफैँमा राजनीतिक सहमतिका दस्ताबेज हुन् । ति सम्झौताहरु सबै संविधानको अंगको रुपमा मानिएको छ । ति संविधान पनि हुन् । तर कुरा अहिले टुंग्याउन कठिन भएको राजनीतिक नै हो । राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन । शान्ति सम्झौता के कारणले भयो, त्यहाँ ठूलो युद्ध भयो, हजारौँको बलिदान भयो । राज्य पक्षको पनि बिद्रोही पक्षको पनि । एउटा जबरजस्ती परिवेश बन्यो र त्यसैले राजनीतिक नेतृत्वलाई शान्ति सम्झौतामा जानुपर्छ भन्नेतिर उत्प्रेरित ग¥यो । एउटा प्रवृत्ति यो बिजनेस किन टुंग्याउनु भन्ने छ । अर्को राजनीतिक प्रवृत्ति माओवादीलाई तह लगाउने अब अन्तिम बाँकी रहेको यही छ, किन टुंग्याउनु र ? माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ, गरौँला भन्ने छ ।’
उनले आफू शान्ति सम्झौताको हस्ताक्षरकर्ता, क्रान्ति विद्रोह र जनयुद्धको नेतृत्वकर्ता हुनुको नाताले छिटोभन्दा छिटो यो विषय टुङ्गियोस् भन्ने चाहना रहेको बताए । प्रचण्डले यस विषय पछाडिको संवेदनशीलता, तीब्रता बुझ्न सक्नुपर्ने बताए । आफूले यस विषयलाई लम्ब्याउनुपर्ने, लम्बिदिए हुन्थ्यो भन्नुपर्ने कुनै आधार, कारण र तर्क केहीपनि नरहेको बताए । आफूले पीडितहरुसँग बालुवाटारमा पटक–पकट पीडितलाई बोलाएर कुरा सुनेको पनि अध्यक्ष प्रचण्डले बताए । उनले आफ्नो कुारले पीडित र उनीहरुका परिवार कन्भिन्स पनि भएको बताए ।
सडकबाट राज्यलाई र राजनीतिक नेतृत्वलाई अब नसुध्रिए बर्बाद हुन्छ भन्ने ठाउँमा नपु-याएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन अर्को १८ वर्ष लाग्नसक्ने उनको भनाइ थियो ।