काठमाडौं । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा बन्न लागेको अर्धजलाशययुक्त १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया रद्द भएको छ ।
ठेक्का रद्द भएसँगै जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (ईपीसी) मोडेलमा अगाडि बढाउन लागेको लट नं. २ अन्तर्गतका सिभिल र हाइड्रोमेकानिकलका कामहरू अलपत्र परेका छन् ।
ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको समेत लगानी भएको आयोजनामा मिलोमतो भएको तथ्य बाहिरिएपछि जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले ठेक्का नै रद्द गरेको हो। जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्कामा मिलेमतो गराउन मन्त्रीकै कार्यकक्षमा ठेकेदारहरू जम्मा गरेर चेक लेनदेन गराएको आरोप छ । यो विषयमा अनुसन्धान भइरहेको अख्तियारका अधिकारीहरूले पुष्टि गरेका छन् ।
अख्तियारले अनुसन्धान सुरु गर्न थालेपछि कम्पनीले एक सूचना जारी गरेर ठेक्का प्रक्रिया नै रद्द गरेको हाे ।
आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा १६ अर्ब रुपैयाँ ऋण र बाँकी ७ अर्ब स्वपूँजी हुने जनाइएको छ।
सरकारी स्वामित्वमा रहेको जगदुल्ला जलविद्युत् आयोजनाले आह्वान गरेको ठेक्का प्रक्रियामा हाइ हिमालयन हाइड्रोरएजीई कम्पनी जेभी, पटेल इन्जिनियरिङ, झोङदिङ इन्टरनेशनल, लामा कन्स्ट्रक्सन, सिनो हाइड्रो कर्पोरेशनसहित सात निर्माण कम्पनीले आवेदन दिएका थिए । तर, कम्पनीले ठेक्का प्रक्रियामा सहभागी भएका कुनै पनि कम्पनी प्राविधिक मूल्यांकनमा सफल नभएपछि ठेक्का रद्द गरिएको दावी गरेको छ ।
कम्पनीले मंगलबार सार्वजनिक गरेको सूचनामा सिभिल तथा हाइड्रो मेकानिकलतर्फको ठेक्का रद्द भएको जनाएको छ। गत जेठ २० गते आह्वान भएको १६ अर्बको ठेक्कामा ६ वटा कम्पनीले आवेदन दिए पनि ऊर्जामन्त्री खड्काको अग्रसरतामा हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन र एजीलाई ठेक्का दिलाउने गरी सेटिङ गरेको आरोप लागेको छ।
२०८६ असारभित्र सम्पन्न गर्नेगरी अगाडि बढाइएको आयोजनाको २०७८ मै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भइसकेको थियो । डोल्पाको मुड्केचुला गाउँपालिका–७, इलमा विद्युत् उत्पादनगृह रहने आयोजनाको जगदुल्ला गाउँपालिका–१, को हुरीकोटमा २३ मिटर अग्लो जलाशययुक्त बाँध निर्माण हुने आयोजनाले जनाएको छ ।