विराटनगर । सहकारी ठगी प्रकरणको आरोपमा फरार रहेकी प्रतिनिधि सभा लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन् ।
मोरङको धनपालथान ४ कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थाको २२ करोड रकम अपचलनमा संलग्न भनिएकी कोइराला जिल्ला अदालत मोरङमा उपस्थित भएकी हुन्।
जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको आजै बयान हुनेगरि पेशी तोकिएको छ । बयान सकिएपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।
कोइरालाका बयानपछि थुनछेक बहस हुनेछ । त्यसपछि उनलाई धरौटीमा तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा कारागार पठाउने भन्ने आदेश आउने छ ।
उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्।
कोइरालासहित रंगेली नगरपालिका- २ का अध्यक्ष तथा सहकारीका पूर्वउपाध्यक्ष सन्तलाल खवास, सहकारीका अध्यक्ष श्याम रौनियारसहित २५ जनाविरुद्ध पक्राउको अनुमति भएको थियो।
अञ्जला उमागौरी सहकारीकी पूर्वसञ्चालक हुन्। उनले २०७८ माघ ५ गते सहकारीबाट राजीनामा दिएकी थिइन्। उक्त सहकारीबाट २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना भएको छ।