मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

मितेरी सहकारी ठगी प्रकरण : धनराज गुरुङसँग सीआईबीले गर्‍याे पाँच घण्टा सोधपुछ

बुधबार, पुष २४ २०८१

काठमाडौं । सहकारी ठगी आरोप लागेका सत्तारुढ कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङसँग प्रहरीले सोधपुछ गरेको छ ।

ललितपुरको मितेरी सहकारी ठगी प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कांग्रेसका उपसभापति  गुरुङसँग दोस्रो पटक सोधपुछ गरेको हाे ।

सीआईबीको कार्यालय लाजिम्पाटमा बोलाएर मंगलबार गुरुङमाथि सोधपुछ गरिएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले पुष्टि गरे ।

यसअघि कार्तिक २८ मा प्रहरीले उनलाई ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको घटनामा सीआईबीले सोधपुछ गरेको थियो ।

सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको छ ।

ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् । उनीहरूको बिचमा २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको भेटिएको छ ।

प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको रकम अपचलनमा पत्नी संलग्न देखिएपछि सम्बन्ध विच्छेद गरेको बारे सोधपुछ गरेको छ ।

कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री गुरुङले सहकारीबाट लिएको ऋण र भ्रष्टाचारी ठहर भएका व्यापारी मीनबहादुर गुरुङसँग भएको ‘शंकास्पद कारोबार’का सम्बन्धमा पनि सीआईबीले सोधपुछ गरेको छ ।

सहकारी ठगीकै अनुसन्धानका क्रममा नेता गुरुङ र भ्रष्टाचार अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबीच २०८१ वैशाखमा ‘संदिग्ध आर्थिक कारोबार’ भएको खुलेको थियो ।