बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको माओवादी पदाधिकारी बैठकको निष्कर्ष

बिहिबार, मंसिर २० २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा आफ्नो पक्षमा आएको नतिजाले राम्रो सन्देश प्रवाह गरेको निष्कर्ष निकालेको छ।

बिहीबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको बताए।

उनले बैठकमा उपनिर्वाचनको प्रारम्भिक समीक्षा, पालिका सम्मेलन र खबरदारी सभालगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए।

सापकोटाले भने, ‘बीचमा केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ ।’

कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार दोस्रो भए पनि त्यसलाई पनि जितकै रुपमा लिएर उत्साहित भएको उनले बताए ।

सापकोटाले ‘अब सबै तयारी २०८४ को चुनाव जित्नका लागि’ गर्ने बताए । सापकोटाले अबको चुनावको एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति,पूर्ण समानुपातिक निर्वाचन र सांसदहरु मन्त्री नबन्ने गरी संविधानमा व्यवस्था गर्नेतर्फ रहने जानकारी दिए ।