बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

उपनिर्वाचन : उत्साहपूर्वक मतदान हुँदै

आइतबार, मंसिर १६ २०८१

काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसै सन्दर्भमा दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि ‘क’ र ‘ख’ मतदान केन्द्रमा मतदान जारी छ । यो पालिकामा एक हजार दुई सय ७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उक्त पदका लागि एक स्वतन्त्रसहित चार जना प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०बाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा निधन भएपछि उपनिर्वाचन भएको हो ।

त्यसैगरी गोरखा नगरपालिका–५ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । उक्त पदका लागि वडाका दुई स्थानमा मतदान भइरहेको छ । यहाँ दुई हजार दुई सय २५ मतदाता छन् । उक्त पदका लागि नौ राजनीतिक दलबाट नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा वडाध्यक्षमा विजयी खिलबहादुर रानाको निधन भएको थियो ।

त्यसैगरी, गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदको लागि तीनवटा मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको छ । निर्वाचन अधिकृत ऋषिराम घिमिरेका अनुसार हालसम्म पाँच प्रतिशत मतदान भइसकेको छ । यो वडामा चार हजार ९१ मतदाता छन् । उक्त पदका लागि आठ जनाले मनोनयन दर्ता गराएका छन् । तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको मृत्युपछि यहाँ उपनिर्वाचन भएको हो ।

झापाको १३१ मध्ये रिक्त कनकाई ६ को वडाध्यक्ष पदको लागि तिकिएको समय बिहान ७ बजेदेखि नै मतदान सुरु भएको छ ।
निर्बाध रुपमा मतदान भइरहेको मुख्यनिर्वाचन अधिकृत उमेशप्रसाद लुईंटेलले बताए।

मतदानस्थल तोकिएको कनकाई ६ को चम्पापुर माध्यमिक विद्यालयको दुईवटा मतदान केन्द्रमा मतदान शुरु भएको हो ।

दुई हजार ५८ जना मतदाता रहेको कनकाई ६ मा बिहान ९ : १५ बजेसम्ममा १८० मत खसिसकेको छ ।

कनकाई ६ को वडाध्यक्षमा नौ जना उम्मेदवार मैदानमा छन् । । स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली, सत्तारुढ कांग्रेसका रामगोपाल ओली, नेकपा एमालेका तुलराम बस्नेत , प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका गणेशबहादुर थापा, जनमत पार्टीका सुकलाल राजवंशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायण निरौला , नागरिक उन्मुक्ति पार्टीका जमुना राजंवशी , मंगोल नेशनल अर्गनाइजेसनका पदमबहादुर तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दलबहादुर श्रेष्ठले उम्मेदवार बीच प्रतिस्पर्धा हुँदैछ ।

कनकाई ६ का वडाध्यक्ष दीर्घराज थापाको गत असोजमा मृत्यु भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा निर्वाचन भइरहेको हो ।