बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

उपनिर्वाचन : आज मध्यरातिदेखि मौन अवधि

बिहिबार, मंसिर १३ २०८१

काठमाडौं । आगामी आइतबार हुने स्थानीय तह उपनिर्वाचनको प्रचारप्रसार अवधि आज मध्यरातबाट सकिँदैछ ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज राति १२ बजेबाट निषेधित अवधि लागू हुने भएकाले कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले चुनावी प्रचारप्रसार गर्न नपाउने जनाएको छ ।

मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरु हुने व्यवस्था छ । उक्त अवधिमा उम्मेदवार वा अरु कसैले कुनै पनि माध्यमबाट मत माग्न नपाउने आयोगले जनाएको छ।

आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक/एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।

मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् । पुरुष मतदाता एक लाख १४ हजार ९००, महिला मतदाता एक लाख ११ हजार ८९६ र अन्य मतदाता ३ जना छन् ।

आयोगले मंसिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म स्थानीय तहमा रिक्त विभिन्न पदमा उपनिर्वाचन गर्दैछ । स्थानीय तहमा रिक्त ४४ मध्ये तीनवटामा निर्विरोध भइसकेकाले अब ४१ स्थानमा मतदान हुनेछ । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन्।