काठमाडौं । विवादास्पद अभिव्यक्तिका कारण पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत लगिँदैछ ।
साइबर अपराधको कसुरमा उनी मंगलवार भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले केही कागजात र प्रक्रियाका कारण मंगलवार म्याद थपका लागि अदालत लैजान समय अपुग भएको भन्दै आज लैजाने बताएको छ ।
उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ ।
प्रसाईँले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको करोडौं रहेको भन्दै ‘फेक डकुमेन्ट’ सहित अफवाह फैलाएका थिए ।
ती विवरणहरू सामाजिक सञ्जालमा भाइरलसमेत भएका थिए । केही मिडियाले समेत त्यसको सत्य परीक्षण नगरी भ्रम विस्तारमा सघाउ पुर्याएका थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार, प्रारम्भिक जाँचका क्रममा सार्वजनिक गरेका सबै कागजात किर्ते रहेको देखिएको छ ।
प्रसाईँमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो । यसअघि प्रसाईं असोज ६ गते पक्राउ परेका थिए । रास्वपाकी एक नेतृको उजुरीमा पक्राउ परेका उनीमाथि साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उनी सो मुद्धामा एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।