बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

मुख्यसचिव डा. वैकुण्ठ अर्यालले दिए राजीनामा

सोमबार, मंसिर ३ २०८१

काठमाडौं । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् ।

उनले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरेलगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएका हुन् ।

अर्यालले आइतबार दिउसो राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रूपमा हाजिर गरेका थिए ।

स्रोतका अनुसार, वर्तमान जिम्मेवारीप्रति असन्तुष्ट रहेको उनले राजीनामा गरेका हुन् ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सरकारी सेवामा पुनः फर्केका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत कात्तिक २० मा रमाना पठाएको थियो ।

कात्तिक १४ मा सफाइ पाएका उनले २० कात्तिकको निर्णयअनुसार आयोगमा हाजिर गरेका थिए ।

डा. अर्यालमाथि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। विशेष अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको हो।

भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्टै १० असारमा मन्त्रिपरिषद्ले उनलाई योजना आयोगमा सरुवा गर्ने निर्णय गर्दै विशिष्ट श्रेणीको पद सिर्जना गरेको थियो। तर, यो पदमा कुनै स्पष्ट कार्यक्षेत्र भने तोकिएको थिएन ।