काठमाडौं । प्रहरीले मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङसँग बयान लिएको छ ।
उपसभापतिगुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सहकारीको रकम अपलचनबारे बयान लिएको हो ।
सिआइबीले गुरुङलाई बुधबार मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप सम्बन्धि बयानमा कागजसमेत गराएको छ । बुधबार दिउँसो १२ बजेदेखि अपराह्न ५ बजेसम्म उनीसँग सोधपुछ गरी बयान कागज गराइएको छ ।
लाजिम्पाटस्थित सिआइबीको कार्यालयमा आज उनीसँग मितेरी सहकारीको बचत रकम अपचलनका विषयमा उठेका प्रश्नका विषयमा सोधपुछ गरिएको ब्यूरो प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।
बयान लिएपछि उनीसँग घटना विवरण कागजसमेत गराइएको सिआइबीले जनाएको छ ।
सीआईबीका अनुसन्धान अधिकृतहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा गुरुङले आफूले सहकारीको रकम अपचलन नगरेको जिकिर गरेका छन् । बरु आफ्नो भागमा परेको ८४ लाख रुपैयाँ पटकपटक गरेर तिरेको उनले बताएका छन् । आफूले नक्कली डिभोर्स नगरेको जिकिर गर्दै धनराजले भनेका छन्, ‘म सहकारीमा सदस्य थिएँ, छोरालाई विदेश पठाउने बेला ऋण लिनु पर्दा १२ लाख लिएको थिएँ । त्यो पनि तिरेको हुँ ।’
बयानका लागि सिआइबी पुगेका गुरुङसँग उनकी पूर्वपत्नि ज्योति गुरुङले अपचलन गरेको रकम , सहकारीबाट लिएको ऋण , र उनले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धि सोधपुछ गरेको थियो ।
गुरुङकी श्रीमती ज्योति गुरुङ २०५७ सालदेखि सहकारीको कर्मचारी रहेको र २०७५ सालमा कार्यकारी प्रमुख रहेकी थिइन्।
ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको थियो । ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएका थिए । धनराज आफैले ज्योतिसँग सम्बन्ध विच्छदे हुँदा ज्योतिले सम्पति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमती भएको बताएका छन् । धनराजले आफु सहकारीका जोडिनु र श्रीमतिसँग भएको सम्बन्धविच्छेद बारे बयान दिएको बुझिएको छ ।
सहकारी सम्बन्धि छानविन गर्न बनेको विषेश समितिले पनि आफनो प्रतिवेदनमा धनराज माथि छानविन गर्नुपर्ने राय दिएको थियो ।
उनको पूर्वपत्नि ज्योति गुरुङ र अर्का आरोपी ज्योति बहादुर भण्डारी विरुद्ध इन्टरपोल मार्फत रेड नोटिस जारी भैसकेको छ । मितेरी सहकारीका संचालक समितिले दिएको उजुरीआधारमा धनराजमाथि छानविन सुरु भएको हो ।
यो प्रकरण सतहमा आएपछि उपसभापति गुरुङले सामाजिक सञ्जालमार्फत दुई पटक स्पष्टीकरण समेत दिएका छन् । उनको चौतर्फी आलोचना भइरहेका बेला पटक पटक उनले स्पष्टीकरण दिइपनि उनको आलोचना भने हुन छाडेको छैन ।
एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा आफुलाई सहकारी ठग भनिएको प्रति आपत्ति जनाउदै आफ्नी पुर्वश्रीमती गुरुङलाई पक्राउ गरेर अनुसन्धान गर्न उपसभापति गुरुङले माग समेत गरेका छन्।