काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त निर्देशन दिएका हुन् ।
उनले भने, ‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौं। हामी बदलिन चाहन्छौं, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् । टोल–टोल र घर घरमा पुग्नुहोस्।’
माओवादी अन्य दलभन्दा फरक शक्ति हो भन्ने कुरा पछिल्लो समय सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा माओवादीले थालेको अभियान ऐतिहासिक थियो भन्ने जनताले बुझिसकेको बताए।
अन्य दलभन्दा माओवादी फरक शक्ति हो र सरकारमा भएको बेला माओवादीले हरेक पटक रूपान्तरणकारी काम गरेको उनको दाबी छ ।
उनले पछिल्लो समय सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा माओवादीले थालेको अभियान ऐतिहासिक थियो भनेर जनताले बुझिसकेको उल्लेख गरे । प्रचण्डले पार्टीले गरेका कामसँगै पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिवद्धतासहित जनताको बीचमा जान नेता–कार्यकर्तालाई आग्रह गरे ।
प्रचण्डले स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुरको जनमत आफ्नो पार्टीको पक्षमा भएको जिकिर गरेका छन् ।
यसपटक कीर्तिपुरमा नयाँ इतिहास रच्ने उनले बताए ।