बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

गृहमन्त्री रमेश लेखकको चलाखी !

बिहिबार, कार्तिक १ २०८१

काठमाडौं । गृह मन्त्रालयले महिनौदेखि जिम्मेवारी नदिएर बरण्डामा थन्क्याइाएका आठजना सहसचिवहरुलाई वर्षातबाट प्रभावित भएका जिल्लाहरुमा ‘एक्सन टिम’को रुपमा खटाएको छ । मन्त्रालयले उनीहरुलाई खोज, उद्धार राहत तथा क्षतिका बारेमा स्थानीय सरकारसँग समन्वय र सहजीकरण गर्न गठन भएको कार्यदल संयोजकको जिम्मेवारी दिएको छ । उनीहरुलाई २०८१ असोज १६ गतेदेखि कार्यक्षेत्रमा खटाएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले खटाएका कार्यदलका संयोजक एवम् सहसचिवहरुलाई केही दिन अगाडि गएको अविरल वर्षात र त्यसपछि आएको बाढी पहिरोबाट प्रभावित परिवारको लगत संकलन, राहत कार्यमा समन्वय र सहजीकरण गर्ने म्याण्डेट दिएको बताइन्छ ।

अति भारी वर्षातका कारण गएको बाढी पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा सुझाव दिनेगरी उनीहरुलाई खटाइएको मन्त्रालय स्रोत बताउँछ ।

क्षतिग्रस्त सडकको शीघ्र मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन, सडक निर्माण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय र विपद् पीडित नागरिकको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहस“ग समन्वय गर्ने कार्यादेश उनीहरुले पाएका छन् । सरकारले आफ्ना कर्मचारीलाई कार्यक्षेत्रमा खटाउनु भने नौलो विषय मानिदैन ।

रोचक कुरा के छ भने मन्त्रालयले यी कार्य सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत नै गर्न सक्छ । तर, गृह मन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीले महिनौदेखि जिम्मेवारी नदिई मन्त्रालयको बरण्डामा थन्क्याइएका सहसचिवहरुलाई प्रभावित जिल्लामा खटाएर कर्मचारीबाट विरोध नहोस भनि थप चलाखीपूर्ण नाटक मञ्चन गरेको अर्थमा हेरिएको छ ।

गृह मन्त्रालयमा आवश्यकता भन्दा एकदर्जन बढी सहसचिवहरु अनावश्यक ढंगले भित्र्याइएको छ । उनीहरुलाई मन्त्रालयले जिम्मेवारी दिन नसक्दा बाढीपहिरो प्रभावित आठवटा जिल्लामा खटाइएको छ । उनीहरु मन्त्रालयमा जिम्मेवारी नपाएर महिनौंदेखि हाजिर गरेर दिन कटाउँदै आएका थिए ।

जिम्मेवारी नपाएर करिडोरमा हल्लीरहेका सहसचिव गोविन्दप्रसाद रिजाललाई बाढीको कहरबाट प्रभावित जिल्ला काठमाडौंको एक्सन टिममा खटाइएको छ । ललितपुरमा सहसचिव प्रकाश पौडेल र भक्तपुरमा नारायण प्रसाद अर्याललाई जिम्मेवारी दिइएको छ ।

काभ्रेमा बासुदेव घिमिरे र सिन्धुलीमा भने लालबाबु कवारी खटिएका छन् । मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्यामकृष्ण थापा र धादिङमा सहसचिव रमेश ढकालको नेतृत्वमा मन्त्रालयले एक्सन टिमसहित परिचालन गरेको बताइन्छ । साँघु साप्ताहिकबाट