बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

नाबालिग दिदीबहिनी मृत प्रकरण : अस्वस्थ अवस्थामा फेला परिन् आमा

बुधबार, भाद्र १९ २०८१

मोरङ । मृत नाबालिग छोरीहरूलाई छाडेर बेपत्ता भएकी अस्मिता न्यौपाने बिर्तामोडमा फेला परेकी छन्।

आमा बेपत्ता हुँदा आमाले नै छोरीहरूलाई विष खुवाएर हिँडेको आशङ्का गरिएको थियो। उनीमाथि छोरीहरुलाई विष खुवाएर हत्या गरेको आरोप छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र २ नाबालिग मृत फेला परेका थिए। आमा अस्मिताको मोबाइल भने छोरीहरू शव भेटिएकै स्थानमा फेला परेको थियो।

शारीरिक हिसाबले कमजोर अवस्थामा भेटिएकी अस्मिताको विराटनगर स्थित कोशी अस्पतालमा उपचार सुरु गरिएको प्रहरीले जनाएको छ ।

घरमा श्रीमानसँग विवाद भएपछि आमा अस्मिताले सँगै लिएर गएको भनिएका २ नाबालिग छोरी गत शनिवार दिउँसो मृत फेला परेका थिए ।

अस्मिता सुन्दरहरैँचा–७ मा श्रीमान् अर्जुन कार्कीसँग बस्दै आएकी थिइन्।

कार्कीका नाबालिगहरु छोरीहरू १ वर्षीय आइका र ३ वर्षीय अर्पणा कार्की स्थानीय नारायण न्यौपानेको केरा घारीभित्र मृत फेला परेका थिए।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूका अनुसार उनले श्रीमान् अर्जुन कार्कीलाई ‘तेरा छोरी मारिसकेँ’ भनेर म्यासेज गरेको खुलेको छ ।

‘छोरी मारिसकेको भनेर श्रीमानलाई म्यासेज पठाएको देखिन्छ, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘मोबाइल पनि पानीमा भिजेको अवस्थामा भेटिएको छ । यो म्यासेज अस्मिताले नै पठाएको हो कि होइन भनेर अनुसन्धान गर्दैछौँ ।’