बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक जारी

आइतबार, बैशाख ९ २०८१

काठमाडौं । नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज पनि जारी रहने छ।

ललितपुरको गोदावरीमा शनिवारदेखि सुरु भएको बैठकमा आज पनि विभिन्न प्रतिवेदनहरू प्रस्तुत गरिँदै छ ।

पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा भइरहेको परिषद् बैठकको पहिलो दिन राजनीतिक र साङ्गठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदन प्रस्तुत हुने छ।

बैठकमा वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना प्रस्तुत हुने छ। प्रस्तुत प्रतिवेदन र कार्ययोजनामाथि बैठकमा सहभागीले सुझाव दिनेछन्।

मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिलाई सुनिश्चित गर्न सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले दिशानिर्देश गर्नेछ।

जारी महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनले पार्टी जीवनको लोकतान्त्रिकरणका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको छ ।

तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रस्तुत ‘जनताको बहुदलीय जनवाद’लाई सिद्धान्तका रूपमा अङ्गीकार गर्दै आएको एमालेले उक्त लक्ष्य पूरा गर्न वर्तमान सरकारलाई दिगो, परिणामुखी र सफल तुल्याउँँदै अर्थतन्त्रलाई चलायमान बनाउने, सहकारीपीडितलाई न्याय दिने, सार्वजनिक सेवालाई प्रभावकारी बनाई सुशासन कायम गर्ने, सङ्घीयता कार्यान्वयनका जटिलता फुकाउने सवालमा नीतिगत प्राथमिकता र चासो दिएको छ ।

एमालेले भ्रष्टाचार र बेइमानीपूर्ण कार्य गर्नेलाई कारबाही गर्ने, मुलुकमा जवाफदेहिता सुनिश्चित गर्ने, कृषिको औद्योगिकीकरण र स्वदेशी उत्पादनका साथै यातायात, सञ्चार र पूर्वाधार विकासमा जोड दिने, विद्युत् उत्पादन र खपत बढाउने जस्ता १३ नीतिगत प्राथमिकता निर्धारण गरेको छ ।

यस्तै प्रविधिक शिक्षाको विस्तार र लैङ्गिक समानता कायम, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने र वैदेशिक सम्बन्धलाई राष्ट्रिय स्वाधिनताका आधारमा सृदृढ बनाउन एमालेको जोड रहेको छ । ती विषयमा एमाले नेतृत्वले महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग समूहगत छलफलबाट सारभूत र रणनीतिक सुझाव मागेको छ । परिषद् बैठकमा आज प्रतिवेदन र श्रव्यदृष्य सामग्री प्रस्तुतिको क्रम रहेको छ भने आइतबार समूहगत छलफल र पारित हुनेछ ।

परिषद् बैठकमा सहभागी दुई हजार चार सय ५४ प्रतिनिधिमाझ अध्यक्ष ओलीबाट प्रस्तुत प्रतिवेदनमा पार्टी सदस्यता वितरण, नवीकरण र परीक्षण, प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन, कमिटी सञ्चालन, चेन अफ कमाण्ड र कार्यकर्ताको (मूल्याङ्कन), कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण, आर्थिक–सामाजिक रुपान्तरण र जनचासोका विषयको सम्बोधन र निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने सम्बन्धमा कार्यकर्ताबाट व्यापक छलफलसहित सुझावको अपेक्षा गरेका छन् ।

अध्यक्ष ओलीले मुलुकमा बढ्दो चरम राजनीतिक विकृति, आर्थिक र व्यावसायिक क्षेत्रमा उत्पन्न सङ्कट र रोजगारीका क्षेत्र साँघुरिएका अवस्था एवं सुशासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा छाएको टिप्पणी गर्दै यसलाई वर्तमान सरकारले चिर्नुपर्नेमा जोड दिए