बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आइपीएल : राजस्थानमाथि गुजरातको रोमाञ्चक जित, आज मुम्बईविरुद्ध बैंगलुरु खेल्ने

बिहिबार, चैत्र २९ २०८०

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत हिजो भएको खेलमा राजस्थानमाथि गुजरातको तीन विकेटको रोमाञ्चक जित निकालेको छ ।

अन्तिम बलमा राशिद खानले चौका हानेपछि गुजरात टाइटन्सले राजस्थान रोयल्समाथि जित हात पारेको छ । राजस्थानको यो पहिलो हार हो ।

गुजरातलाई अन्तिम ओभरमा जित्नलाई १५ रन आवश्यक थियो । अन्तिम बलमा २ रन चाहिँदा आवेश खानको बलमा राशिद खानले चौका हान्दै रोमाञ्चक जित दिलाए ।

त्यसअघि जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।

गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातका ओपनर शुभमन गिलले ४४ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७२ रन बनाए । साई सुदर्शन ३५, विजय शंकर १६, राहुल टेवाटिया २२ र राशिद खानले २४ रन बनाए ।

आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुँदैछ ।

मुम्बईको वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार ७ : ४५ बजेदेखि खेल शुरु हुने छ ।

जारी आइपिएलमा शुरुवाती तीन खेल हारेको मुम्बई इण्डियन्सले पछिल्लो खेलमा जित हासिल गरेर विजयी लयमा फर्किने प्रयास गरेको छ । मुम्बईले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म ५ खेलमा केवल एक खेल जितेको छ भने चार खेलमा हार बेहोरेको छ ।

मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

त्यस्तौ फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो ।