काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बिहान बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले काठमाडौंकी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी उम्मेदवार कपिलवस्तुकी विमला घिमिरे छिन् ।
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारीको प्रस्ताव दर्ता हुँदै छ । राष्ट्रिय सभा उपाध्यक्षका लागि बुधबार निर्वाचन हुने छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने छ । मनोनयन दर्ता कार्यक्रम नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने छ ।
संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचित अध्यक्ष पुरुष रहेकाले संवैधानिक व्यवस्थाबमोजिम दलले उम्मेदवारी दिँदा उपाध्यक्ष पदमा महिला मात्रै उम्मेदवार हुने छन् ।