सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ ।
यसअघि मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम थियो । तर गठबन्धनको प्रमुख घटक एमालेले असन्तुष्टि जनाउँदै विश्वासको मत नदिने बताएपछि प्रदेशसभाको बैठक स्थगित भएको थियो ।
मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि एमालेलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिने माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए ।
उनका अनुसार संसदीय दलमा विश्वासको मत लिने छलफल भएको छ ।
कर्णालीमा माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ सदस्य छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।