बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

उम्मेदवारमै अल्झियो कांग्रेस, आज संसदीय बोर्ड बैठक बस्दै

बुधबार, चैत्र २१ २०८०

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।

एमाले, रास्वपा, राप्रपासमेत उम्मेदवारको टुंगो लगाएर घरदैलो थालेपनि कांग्रेस भने कुन गुटको कस्लाई उम्मेदवार बनाउने भन्नेमै अल्झिएको छ ।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न पटक पटक बैठक बसेपनि उम्मेदवार चयन गर्न नसकेको हो ।

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले उपनिर्वाचनका लागि पार्टीको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि उम्मेदवार टुङ्गो लगाउन नसकिएको जानकारी दिए ।

सभापति शेरबहादुर देउवाले सोमवार स्थलगत अध्ययनका लागि इलाम र बझाङ पुगेका महामन्त्री विश्वप्रकाश शर्मा र सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरले उम्मेदवारका बारेमा छलफल गरेका थिए ।

इलाम उपनिर्वाचनमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङको नाम सिफारिस भएर आएको छ ।

बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहसँगै सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय र नारायण हमालको नाम सिफारिस भएर आएको छ ।

इलाममा डम्बर खड्कालाई उम्मेदवार बनाउने सम्भावना छ । यता कोइरालापक्षको भने भेषराज आचार्यलाई टिकट दिनुपर्ने जोड छ । कांग्रेसको संसदीय बोर्ड बैठकमै शेखर कोइराला, शशांक कोइरालाले आचार्यको पक्षमा जोडदार रुपमा भनाइ राखेका थिए ।

उम्मेदवार टुङ्गो लगाउन आज दिउँसो २ बजे पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय भएको विश्वकर्माले जानकारी दिए ।

उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेद्वारका बारेमा छलफल गर्न सोमबार साँझ पनि कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्ष नेताहरुको छलफल भएको थियो ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेद्वार मनोनयनपत्र दर्ताको समय तोकेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले पार्टीको उम्मेदवार तय गरिसकेका छन् ।